गोरखापत्र विषयगत, ४ माघ २०७९

 १. पन्ध्रौँ आवधिक योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसरहरू उल्लेख गर्नुहोस् ।

पन्ध्रौँ आवधिक योजना २५ वर्षे दीर्घकालीन सोचसहित तर्जुमा भएको योजना हो । दीर्घकालीन सोच हासिल गर्ने दिशामा पन्ध्रौँ योजनालाई आधार योजनाका रूपमा लिइएको छ । चालू पन्ध्रौँ योजनाले पहिचान गरेका योजनाका चुनौती र अवसर यस प्रकार छन् :

क) चुनौतीहरू

– समन्यायिक आर्थिक वृद्धि र नागरिकको जीवनमा गुणात्मक सुधार गर्नु,

– गुणस्तरीय भौतिक पूर्वाधारको विकास र उपभोगमा वृद्धि गर्नु,

– दक्ष मानव संशाधनको विकासद्वारा उत्पादनशील रोजगारीको अवसर वृद्धि गरी जनसाङ्ख्यिक लाभको उपयोग गर्नु,

– वित्तीय सङ्घीयताको कुशल कार्यान्वयन गरी समष्टीगत आर्थिक स्थायित्व कायम गर्नु,

– सङ्घ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारी पूरा गर्न साधन स्रोतको लागत अनुमान, वितरण, जनशक्ति एवं संस्थागत प्रबन्ध गर्नु ।

ख) अवसरहरू

– सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील सरकार र संस्थागत स्थायित्व,

– तहगत सरकारका बीचमा दिगो विकास, समृद्धि र सुशासनका क्षेत्रमा प्रतिस्पर्धी भावना,

– उपलब्ध जनसाङ्ख्यिक लाभलाई मुलुकको विकासमा उपयोगको उच्च सम्भावना,

– लगानी केन्द्रित गर्न सहज वातावरण निर्माण,

– प्राकृतिक, भौगोलिक, जैविक, पर्यावरणीय तथा सामाजिक सांस्कृतिक विविधताको बहुआयामिक उपयोग,

– निजी क्षेत्रको लगानी, व्यावसायिकता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि,

– सामुदायिक क्षेत्रको उत्पादनशील क्षेत्रमा परिचालनद्वारा राष्ट्रिय पुँजी निर्माण ।

२. स्थानीय कार्यपालिका भन्नाले के बुझ्नुहुन्छ ? स्थानीय कार्यपालिकाको निर्वाचन एवं गठन प्रक्रिया उल्लेख गर्नुहोस् । 

स्थानीय तहको कार्यकारिणी अधिकारको प्रयोग गर्ने निकायलाई स्थानीय कार्यपालिका भनिन्छ । यसअन्तर्गत गाउँ कार्यपालिका तथा नगर कार्यपालिका पर्छन् । संविधानको धारा २१५ र धारा २१६ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा यी निकायको निर्वाचन एवं गठन प्रक्रिया देहायबमोजिम हुने व्यवस्था रहेको छः

क) गाउँ कार्यपालिकाको गठन

– प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहन्छन् । निजको अध्यक्षतामा गाउँ कार्यपालिकाको गठन हुन्छ ।

– गाउँ कार्यपालिकामा अध्यक्षसँगै एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, गाउँ सभाका सदस्यले आफूहरूबाट निर्वाचित चार जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित दुई जना सदस्य रहन्छन् ।

– अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको निर्वाचन गाउँपालिका क्षेत्रभित्रका मतदाताले एक पद एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार गरिन्छ ।

– गाउँ कार्यपालिकाका चार महिला सदस्य गाउँ सभाका सदस्यले आफूहरूमध्येबाट गोप्य मतदानद्वारा चार जना उम्मेदवारलाई दिने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने चार जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

– दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यहरू गाउँ सभाका सदस्यले गोप्य मतदानद्वारा दुई जना उम्मेदवारलाई दिने एक÷एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने दुई जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

ख) नगर कार्यपालिकाको गठन 

– प्रत्येक नगरपालिकामा एक जना नगर कार्यपालिका प्रमुख रहन्छन् । निजको अध्यक्षतामा नगर कार्यपालिकाको गठन हुन्छ ।

– नगर कार्यपालिकामा प्रमुखसँगै एक जना उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, नगर सभाका सदस्यले आफूहरूबाट निर्वाचित पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित दुई जना सदस्य रहन्छन् ।

– प्रमुख, उपप्रमुख र वडाध्यक्षको निर्वाचन नगरपालिका क्षेत्रभित्रका मतदाताले एक पद एक मतको आधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार हुने गर्छ ।

– नगर कार्यपालिकाका पाँच महिला सदस्य नगर सभाका सदस्यले आफूहरूमध्येबाट गोप्य मतदानद्वारा पाँच जना उम्मेदवारलाई दिने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने पाँच जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

– दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यहरू नगर सभाका सदस्यले गोप्य मतदानद्वारा तीन जना उम्मेदवारलाई दिने एक/एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने तीन जना निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित हुन्छन् ।

– यसरी स्थानीय कार्यपालिकाको गठन भई पाँच वर्ष जनताको सेवा गर्ने अवसर प्राप्त हुन्छ ।

३. वनबाट प्राप्त रोयल्टी रकम उपयोगका सम्भावित क्षेत्रहरू के के हुन सक्दछन् उल्लेख गर्नुहोस् । 

वन क्षेत्रको रोयल्टी राष्ट्रिय वन र संरक्षित क्षेत्रबाट प्राप्त हुने गर्दछ । संविधानतः राष्ट्रिय वनको परिचालन तथा व्यवस्थापन प्रदेश सरकार र संरक्षित क्षेत्रको सञ्चालन एवं व्यवस्थापन नेपाल सरकारबाट हुने व्यवस्था छ । प्राकृतिक स्रोतको परिचालन गर्दा राष्ट्रिय वनबाट प्राप्त हुने रोयल्टी प्रदेश सरकार र संरक्षित क्षेत्रबाट प्राप्त हुने रोयल्टी सङ्घ सरकारबाट सङ्कलन भई सङ्घीय विभाज्य कोषमा जम्मा हुँदै आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विकास गरेको ढाँचाअनुसार वनबाट सङ्कलित रोयल्टी रकमको बाँडफाँट हुँदै आएको छ। साथै आयोगले वन क्षेत्रबाट प्राप्त रोयल्टीलाई उपयोग गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई सुझावसमेत दिँदै आएको पाइन्छ ।

वनबाट प्राप्त रोयल्टी उपयोगका सम्भावित क्षेत्रहरू

नाङ्गा डाँडा, खाली जग्गा, आगलागी एवं पहिरोबाट क्षति पुगेको वनमा वृक्षरोपण गर्न एवं हरियाली प्रवद्र्धनसम्बन्धी कार्य गर्न,

अग्नि नियन्त्रण रेखा निर्माणसम्बन्धी कार्य गर्न,

पहिरो नियन्त्रण कार्य गर्न,

जलाधार क्षेत्र संरक्षण कार्य गर्न,

दिगो वन व्यवस्थापनसम्बन्धी कार्य गर्न,

वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्न,

वन्यजन्तुबाट भएको मानवीय एवं बालीनालीको क्षतिका लागि राहत तथा क्षतिपूर्ति प्रदान गर्न,

संरक्षित क्षेत्रभित्र आवश्यक पूर्वाधार निर्माण एवं मर्मत सम्भार गर्न,

जैविक विविधता, वन्यजन्तु र तिनको वासस्थान तथा दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण तथा व्यवस्थापन गर्न,

जडीबुटी खेती तथा हरित एवं गैरकाष्ठ उद्यम प्रवद्र्धन गर्न,

मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्न,

वन पैदावारको संरक्षण एवं दिगो उपयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,

पर्यापर्यटन प्रवद्र्धनसम्बन्धी कार्य गर्न,

प्राकृतिक सम्पदाको अभिलेखीकरण गर्न,

वन पैदावारको अवैध चोरी निकासी नियन्त्रणसम्बन्धी कार्य गर्न ।

यसरी वनबाट प्राप्त रोयल्टीलाई वन क्षेत्रको विस्तार, संरक्षण, व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्नका लागि उपयोग गर्न सकिन्छ ।

४. विशिष्टीकरण तालिका भनेको के हो ? यसको छोटो परिचय दिनुहोस् । यसको प्रयोग किन गरिन्छ ? उल्लेख गर्नुहोस् । 

विशिष्टीकरण तालिकाको परिचय प्रश्नपत्र निर्माणको प्रमुख आधार : विशिष्टीकरण तालिका

परिचय : पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ उपलब्धिअनुरूप परीक्षणीय पक्ष निर्धारण गरी प्रश्नपत्र निर्माण गर्नुभन्दा अगाडि कुन कुन विधा र क्षेत्रबाट प्रश्न बनाउने, ज्ञान, बोध, व्यावहारिक सीप र उच्च दक्षता तहका प्रश्नहरू कति र कस्ता बनाउने, जम्मा प्रश्नसङ्ख्या कति हुने, उत्तर दिनुपर्ने प्रश्न के कति हुने तथा प्रश्नहरूको अङ्कभार र समय कति हुने भनी तयार पारिएको तालिकालाई विशिष्टीकरण तालिका भनिन्छ । 

प्रतिविम्बन : जुनसुकै विषयको मूल्याङ्कनमा विशिष्टीकरण तालिका महìवपूर्ण मानिन्छ । यसमा पाठ्यक्रमको उद्देश्यअनुसार प्रश्नपत्र, परीक्षा र मूल्याङ्कन प्रतिविम्बित भएको हुन्छ । 

भूमिका : पाठ्यक्रमको उद्देश्यअनुरूप मूल्याङ्कन गर्न, मूल्याङ्कनलाई विश्वसनीयता, प्रामाणिकता, विभेदकारिता, विविधता, व्याप्तता, स्तरयुक्त बनाउन र विषयवस्तुगत सन्तुलन मिलाई मूल्याङ्कन गर्न विशिष्टीकरण तालिकाको महìवपूर्ण भूमिका रहेको हुन्छ । 

अनिवार्यता : यो परीक्षण विधि, प्रक्रिया, साधन र स्रोत छनोट गर्न र प्रश्न निर्माणमा त्रुटिरहित परीक्षण योजना तयार पार्न अनिवार्य मानिन्छ । त्यसैले मूल्याङ्कनको समग्र पक्षलाई प्रभावकारी, योजनाबद्ध तथा व्यवस्थित गर्न विशिष्टीकरण तालिका महìवपूर्ण मानिन्छ ।

विषयगत वैधता : पाठ्यक्रमका उद्देश्य प्राप्त हुने गरी पाठ्यक्रमका सबै विषयवस्तु समेटेर पाठ्यक्रमद्वारा निर्दिष्ट मूल्याङ्कन प्रक्रिया अपनाई मूल्याङ्कनका साधनका रूपमा परीक्षालाई प्रयोगमा ल्याउन विशिष्टीकरण तालिकाको महìवपूर्ण भूमिका रहेको हुन्छ । यसले शिक्षक तथा प्रश्नपत्र निर्माणकर्तालाई प्रश्नपत्र बनाउँदा विषयवस्तुगत वैधता निर्धारण गर्न निर्देशित गर्दछ ।

निर्देशिका : विशिष्टीकरण तालिका नमुना प्रश्नपत्र निर्माणकर्ता र उत्तरपुस्तिका परीक्षणकर्ताका लागि एक प्रकारको मार्गदर्शन वा निर्देशिका पनि हो । त्यस्तै शिक्षकले शिक्षण प्रक्रिया सञ्चालन गर्दा पनि कुन विषयवस्तु, कसरी, कुनै उद्देश्य प्राप्तिका लागि गर्ने भन्ने मार्गनिर्देश पनि यस तालिकाले गर्दछ । यसमा पाठ्यक्रमको उद्देश्यअनुसार परीक्षा र मूल्याङ्कन प्रतिविम्बित भएको हुन्छ । 

विशिष्टीकरण तालिकाको आवश्यकता र प्रयोग

पाठ्यक्रममा निर्धारण गरेका तहगत सक्षमता तथा कक्षागत सिकाइ उपलब्धि पूरा गर्नका लागि विशिष्टीकरण तालिका निर्माण गर्न आवश्यक छ । यसका साथै पाठ्यक्रमका सम्पूर्ण पक्ष समेट्ने गरी प्रश्नपत्र तयार पार्न र सोहीअनुसार परीक्षा सञ्चालन एवं परीक्षण र पृष्ठपोषण प्रदान गर्न यसको आवश्यकता रहेको छ । मूलतः विशिष्टीकरण तालिकाको आवश्यकतालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः

१. शैक्षणिक योजना निर्माण गर्न 

सबै प्रकारका शैक्षणिक योजना तयार पार्न विशिष्टीकरण तालिकाले सहयोग पु¥याउँछ । विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्न आवश्यक मूल्याङ्कन सामग्री कस्तो हुने, कति अङ्कभारको हुने र प्रश्नसङ्ख्या के कस्ता हुने भन्ने कुरा शैक्षणिक योजनामा राख्न विशिष्टीकरण तालिकाले सघाउ पु-याउँछ ।

२. प्रश्नपत्र निर्माण गर्न

एक निश्चित अवधिभित्र पाठ्यक्रम वा उद्देश्यअनुरूप विद्यार्थीका सिकाइ उपलब्धि मूल्याङ्कन गर्न सिकाइका तहअनुसार प्रश्नहरूका प्रकार र सङ्ख्या, अङ्कभार, समय आदि यसमा राखिने हुँदा प्रश्नपत्र निर्माण गर्न विशिष्टीकरण तालिकाले सहयोग पु¥याउँछ ।

३. विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न 

विशिष्टीकरण तालिकामा सिकाइका कुन कुन तहलाई मापन गर्ने र हरेक तहका सिकाइलाई कति अङ्कभार दिने भन्नेजस्ता कुरा राखिएको हुन्छ । तसर्थ शिक्षण सिकाइ क्रियाकलापमा यी कुरालाई सामञ्जस्य कायम गराउन सकेमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुन्छ । विशिष्टीकरण तालिकामा ज्ञान, बोध, व्यावहारिक सीप तथा उच्च दक्षता मापन गर्ने गरी प्रश्नहरू तहअनुसार निर्माण गर्ने प्रक्रिया उल्लेख हुनाले यस तालिकाको प्रयोगबाट विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न सकिन्छ ।

उल्लिखित बुँदाहरूका आधारमा विशिष्टीकरण तालिकाले शिक्षक, विद्यार्थी र प्रश्नपत्र निर्माणकर्तालाई सिकाइ, परीक्षा र मूल्याङ्कन कार्य सञ्चालन गर्न निम्नानुसारको सहयोग पु-याउँछ :

(क) विद्यार्थीगत आवश्यकता

विद्यार्थीमा सम्पूर्ण विधा र क्षेत्र समेटेर पढ्ने बानीको विकास गर्न,

विद्यार्थी–विद्यार्थीबीचको उपलब्धि तुलना गर्न,

विद्यार्थीको सिकाइमा अभिवृद्धि गर्न,

ज्ञान, बोध, व्यावहारिक सीप तथा उच्च दक्षताका प्रश्नबारे परिचित हुन ।

(ख) शिक्षकगत आवश्यकता 

पाठको उद्देश्य र विद्यार्थीको उपलब्धिका बीच तुलना गर्न,

शैक्षणिक योजना निर्माणमा मूल्याङ्कनका प्रश्न तय गर्न,

विभिन्न विधा वा क्षेत्रबाट सोधिने प्रश्नअनुसार शिक्षण गर्न,

पाठ्यक्रमका उद्देश्य एवं विषयवस्तुका सम्पूर्ण क्षेत्रअनुसार शिक्षण गर्न ।

(ग) प्रश्नपत्र निर्माणकर्तागत आवश्यकता

पाठ्यक्रमका उद्देश्य एवं विषयवस्तुका सम्पूर्ण क्षेत्र र विधा समेटेर प्रश्न निर्माण गर्न,

समय, पूर्णाङ्क र प्रश्नसङ्ख्या तय गर्न, 

कुन विधा वा क्षेत्रबाट के कस्ता र कति प्रश्न निर्माण गर्ने भन्नेबारे निर्देश गर्न,

सबै सीप र दक्षता समेट्ने गरी प्रश्नपत्र निर्माण गर्न,

प्रश्नपत्र निर्माणकर्ता र शिक्षकलाई पथ प्रदर्शन गर्न,

प्रश्नपत्रलाई वैज्ञानिक र व्यवस्थित बनाई एकरूपता ल्याउन,

परीक्षामा विश्वसनीयता ल्याउन आदि । 

निष्कर्ष 

परीक्षाको स्तरीयता, एकरूपता र वैधताका लागि विशिष्टीकरण तालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसमा सिकाइ र परीक्षाका सम्पूर्ण पक्ष समेटिएको हुनुपर्छ । पाठ्यक्रमका सम्पूर्ण क्षेत्रबाट प्रश्न निर्माण गर्न सकिने गरी ज्ञान, बोध र अन्य तहका प्रश्नहरू निर्माण गर्न, प्रश्न सङ्ख्या, समय र अङ्क निर्धारण गर्न तथा मूल्याङ्कन गर्ने प्रक्रियासमेतलाई निर्धारण गर्ने हुँदा शिक्षण सिकाइ सहजीकरण प्रक्रियामा विशिष्टीकरण तालिकाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

Loksewa Diary

Loksewa Diary is an informative blog where you can find updated premium notes of all level of PSC Exams at a nominal cost.

Post a Comment

Previous Post Next Post