सार्वजनिक कोषको सदुपयोग

प्रश्नः सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा उल्लेख गर्दै कोषको सञ्चालनमा सदाचार र नैतिकताको महत्वबारे प्रस्ट पार्नुहोस् । 

सार्वजनिक कोषको परिचय

कोषको शाब्दिक अर्थ अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार, ढुकुटी वा खजाना भन्ने लाग्छ । यस्तो कोषमा वर्तमानमा आएर जिन्सीभन्दा पनि नगदी स्रोतको प्रयोग हुन्छ र बैंकिङ प्रणाली अवलम्बन गरिन्छ । सार्वजनिक कोष भनेको सबैका लागि काम लाग्ने, सबैको उपयोगका लागि बनाइएको सबैलाई साझा रूपले काम लाग्ने स्रोत हो । 

सार्वजनिक कोषमा सर्वसाधारणले तिरेको कर, शुल्क, जरिवानाका साथमा मित्रराष्ट्रबाट प्राप्त हुने अनुदान वा ऋण पनि रहन्छ । विदेशी नागरिकको योगदानसमेत यस्तो कोषमा रहन सक्छ ।

नैतिकता र आचरणको सार्वजनिक कोष सञ्चालनमा उपादेयता

नैतिकता भनेको कामप्रतिको उपयुक्त व्यवहार हो । नैतिक वा उपयुक्त व्यवहारअन्तर्गत इमानदारिता, सत्यता, निष्पक्षता र मानवीयताजस्ता गुण मापदण्डका रूपमा रहन्छन् । सार्वजनिक कोषको सञ्चालन नैतिक ढंगले हुनुपर्छ, जसका लागि संलग्नकर्ता पनि नैतिक हुनु जरुरी छ । नैतिकताको विषय व्यक्तिगत जीवन मात्र होइन, सामाजिक जीवन एवं सार्वजनिक कामकाजका लागि पनि उत्तिकै महत्वपूर्ण छ । 

इमानदारिता देखाउने क्षमता नै सदाचारिता हो । सदाचार भनेको राम्रो आचरण हो । यदि भनाइ र गराइमा अन्तर भयो भने आचरण राम्रो मानिँदैन दुराचार मानिन्छ । नियम–कानुन विधिमा एउटा छ, तर काम गर्दा त्यसको पालना गरिँदैन, वा विधिको विपरीत ढंगले काम गरिन्छ भने पनि त्यो भ्रष्ट आचार वा भ्रष्टाचार हो । सदाचार हुनका लागि जीवन र जगत्मा आफूले राम्रो आनीबानी तथा जीवन पद्धति अपनाउने दह्रो इच्छाशक्ति आवश्यक पर्छ । 

नैतिकताको आवश्यकता व्यक्तिगत जीवनमा भन्दा सार्वजनिक जीवनमा ज्यादा पर्छ । कुनै व्यक्ति वा फर्मलाई राम्रो वा नराम्रो हुनुभन्दा सिंगो समाज वा समूह लाभान्वित हुनु वा हितबाट वञ्चित हुनु अवश्य पनि अन्तर पर्ने विषय हो । मुख्य कुरा त के हो भने सार्वजनिक कोषको प्रयोग सार्वजनिक उद्देश्यका लागि हुनुपर्छ अर्थात् सर्वसाधारणको हितका लागि हुनुपर्छ । करदाताले पनि आफूले तिरेको रकम कहाँ प्रयोग भयो भनेर जान्न पाउने हक राख्छन् । यदि त्यस्तो रकम सुख–सुविधामा प्रयोग भयो, व्यक्तिगत स्वार्थपूर्तिमा खर्च भयो, समुदायमा पुगेन वा सामूहिक हितमा भएन भने कर तिर्ने सर्वसाधारणले औँला ठड्याएर प्रश्न गर्न सक्छन् कि सार्वजनिक कोषको सदुपयोग यही हो ? अर्कोतर्फ सार्वजनिक कोषबाट भएको काम सप्रिँदा सामूहिक हित हुन्छ भने बिग्रिँदा वा दुरुपयोग हुँदा नागरिकबाट पाइ–पाइ गरी जम्मा पारेको रकम खेर जान्छ । तसर्थ सार्वजनिक कोषको सदुपयोगले विशेष अर्थ राख्छ । इतिहासदेखि नै देवस्व र राजस्वको हिनामिनालाई गम्भीर अपराध मानी कडा सजाय गरिन्थ्यो । 

सार्वजनिक कोषको सञ्चालनमा नैतिकता र आचरणको प्रभावकारी अवलम्बन 

यस्तो कोषको सञ्चालन व्यक्तिगत विवेक वा स्वेच्छाले भन्दा पनि विकसित मान्यता,  सार्वजनिक कोष सञ्चालन सम्बन्धमा संवैधानिक एवं कानुनी प्रावधान र निश्चित विधिका आधारमा हुनुपर्छ । साथै यस्तो कोषको व्यवस्थापनमा आन्तरिक नियन्त्रण र निगरानीसमेत आवश्यक पर्छ । अहिले आएर दुरुस्त अभिलेख राख्नुका अलावा सिसिक्यामेराको प्रयोग तथा सफ्टवेयरको प्रयोग गरी दैनिक हिसाब मिलान गर्ने कार्य त्रुटि हुन नदिन र भइहालेमा पहिचानका लागि गरिने केही नवीन कार्य हुन् । 

सार्वजनिक सेवाका कर्मचारीका लागि आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याइनु, आचारसंहिता एवं कानुन उल्लंघन भयो भने सजायको प्रावधान राखिनु पनि सार्वजनिक कामलाई विधिसम्मत र नैतिक बनाउने उपाय हुन् । सार्वजनिक कोषको प्रयोगमा नैतिकता र आचरणको प्रबन्ध गर्दै सोको पालना भए–नभएको जाँच–पड्ताल गर्ने प्रबन्धसमेत गरिनुपर्छ । नेपालको सार्वजनिक क्षेत्रमा कोषको सदुपयोगका लागि जिम्मेवारी र जवाफदेही तोक्ने काम, दस्तखत क–कसको चल्ने, कुन शीर्षक वा उपशीर्षकबाट खर्च लेख्ने, कुन ढाँचाको कागजात वा फाराम सफ्टवेयरमा प्रयोग गर्ने, भुक्तानी लेख्नुअघि के–कस्ता प्रमाण कागजात समावेश गर्ने, कारोबारको लेखा राख्ने, कारोबारका बारेमा तत्क्षण वा निश्चित अवधिका तालुक निकायमा प्रतिवेदन पठाउने, आन्तरिक लेखा परीक्षण एवं अन्तिम लेखापरीक्षण गर्ने, लेखापरीक्षणले औँल्याएको बेरुजु सम्बन्धमा आवश्यक पुस्ट्याइँ संलग्न गरी वा कारबाही गरी फस्र्योट गर्नेलगायत काम पनि पर्छन् । त्यति मात्र होइन, सार्वजनिक कोषको ठूलो हिस्सा खर्च हुने विकास निर्माण, मालसामान, परामर्श सेवा र सेवा करारका लागि पनि खरिदसम्बन्धी कानुनअनुसार मात्र प्रतिस्पर्धा गराएर मात्र गर्ने र यी सबै काममा नैतिकता र असल आचरणको खाँचो पर्छ । 

निष्कर्ष

सार्वजनिक पदाधिकारीहरू भनेको सार्वजनिक सम्पत्ति र कोषको रेखदेखकर्ता र विधिसम्मत प्रयोगकर्तासमेत हुन् । सार्वजनिक कोषको सञ्चालनसँग सम्बन्धित सेवकमा नैतिकता, इमानदारिता, कर्तव्यनिष्ठता, धैर्यता, सहनशीलतालगायत गुण हुनु आवश्यक छ । संविधानमै व्यवस्था भएको विभिन्न तहको सरकारको आर्थिक कार्यविधिअनुसार सार्वभौम संसद्बाट अनुमोदन भएर मात्र आम्दानी र खर्चको काम अगाडि बढाइनुका अलावा हरेक आम्दानी र खर्चका एकाइको सञ्चालन विधि, आचारसंहिता र वित्तीय अनुशासनबाट निर्देशित हुनु आवश्यक हुन्छ । मूलतः  समुदाय र नागरिक हितका लागि सार्वजनिक कोषको प्रयोगलाई सुनिश्चित गरिनुपर्छ । कोष दुरुपयोग गर्ने वा अनैतिक वा भ्रष्ट व्यवहार गर्ने व्यक्ति दण्डित हुनुपर्छ ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post