साझेदारी विकासको परिचय र विशेषताहरू र यसका मोडलहरू

प्रश्नः साझेदारी विकासको परिचय र विशेषताहरू लेख्दै विकासमा साझेदारीका विभिन्न मोडलहरूको संक्षिप्त जानकारी प्रस्तुत गर्नुहोस् । २+३+५=१०

साझेदारी विकासको परिचय

विकास प्रक्रियामा विकासका लम्बीय साझेदार (Vertical Partners), क्षितिजीय साझेदार (Horizontal Partners) र विश्वव्यापी साझेदार (Cross Border Partners) हरूबीच लगानीमा, लाभको उपभोगमा र जोखिम बहनमा दीर्घकालीन जिम्मेवारी बाँडफाँड गर्ने पद्धति नै साझेदारी विकास हो । लगानीमा सरकारी, निजी क्षेत्र, जनता र विकासका विश्वव्यापी साझेदारहरूसँगको साझेदारीले पुँजी प्रविधि ज्ञान सीप र अनुभवको अभावलाई पूर्ति गर्छ ।

नाफामूलक पूर्वाधार निर्माणमा निजी क्षेत्रले बढी योगदान गर्छन् भने गैरनाफामूलक सामाजिक सांस्कृतिकलगायत विकास कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, समुदायमा आधारित संगठन र नागरिक समाजले साझेदारी गर्छन् । आतंकवाद एवं विश्वव्यापी संगठित अपराध नियन्त्रण, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि भने विश्वभरि नै साझेदारी आवश्यक पर्छ ।

साझेदारी विकासका विशेषता

साझेदारी विकासले विकासको बहुआयामिक विषय र बहुपक्षीय साझेदारीको आवश्यकता दर्शाउँछ ।

यो दिगो विकासका लागि बहुपक्षीय सहयोग, समन्वय, सहकार्य, सहलाभ र सहजिम्मेवारीको विषय हो ।

यसले विकासका लम्बीय, क्षितिजीय र विदेशी साझेदारहरूबीच सन्तुलन ल्याउँछ ।

सबै क्षेत्रमा रहेको ज्ञान, सीप, क्षमता, अनुभव र पुँजीको परिचालन गरी अत्यधिक लाभ दिलाउँछ ।

  • यो दक्षता र क्षमताको संयोजन पनि हो ।
  • विकास कार्यमा अन्तरनिर्भता र पारस्परिकता अभिवृद्धिको माध्यम हो ।
  • विकास प्रक्रियामा सिक्ने, सिकाउने र सुधार गर्ने सामूहिक र निरन्तर प्रयास हो ।
  • दीर्घकालीन रूपमा जिम्मेवारीको बाँडफाँड गर्छ ।
  • विश्वास र सम्मानमा आधारित हुन्छ ।
  • संयुक्त रूपमा निर्णय निर्माण गरिन्छ ।
  • शक्ति सन्तुलन कायम गर्छ ।
  • समता, पारस्परिकता र दायित्व निर्वाहमा टिकेको हुन्छ ।

साझेदारी विकासको मोडल

साझेदारी विकासका विभिन्न मोडलहरू प्रचलनमा छन् । ppp, pppp सर्वाधिक लोकप्रिय मोडलका रूपमा रहेको पाइन्छ । केही प्रमुख मोडलहरू तल दिइएको छ ।

व्यवस्थापन करार (Management Contract): सरकारले आफ्नो दायित्वको कुनै काम निश्चित रकम भुक्तानी गर्ने गरी निजी क्षेत्रसँग करार गरेर निजी क्षेत्रबाट नै गराउने प्रक्रिया हो । यस्तो साझेदारी आयोजनाको व्यवस्थापन पूर्ण वा आंशिक रूपमा निजी क्षेत्रको नियन्त्रण रहन्छ ।

सेवा करार (service contract):  सरकारले निजी क्षेत्रबाट प्रभावकारी रूपमा प्रवाह हुन सक्ने आफ्नो दायित्वभित्रको कुनै सेवा निजी क्षेत्रको संगठन वा व्यक्तिलाई निश्चित सेवा शुल्क उठाउन पाउने गरी करार गरेर दिने कार्य हो ।

निर्माण तथा हस्तान्तरण (Build and Transfer):  राज्यबाहेकका क्षेत्रले स्थापना तथा सञ्चालन गर्दा प्रभावकारी हुने पूर्वाधार वा अन्य संरचनाको निर्माण र निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गर्ने गरी गरिएको करार हो यो ।

यस्तो साझेदारीमा निजी क्षेत्रले पूर्ण वा आंशिक लगानी गर्न सक्छ र सर्तको अवधिपछि सम्पूर्ण ज्ञान सम्पत्ति र संरचना राज्यलाई हस्तान्तरण गर्छ ।

निर्माण, सञ्चालन तथा हस्तान्तरण (Build Operate and transfer) : यस्तो करार अनुसार निजी क्षेत्रले निर्माण गर्नुका साथसाथै निश्चित समयसम्म सञ्चालन गरी मुनाफा आर्जन गर्नसमेत पाउँछन् । अवधिपछि भने सबै स्वामित्व सरकारलाई हस्तान्तरण गर्नुपर्छ । राज्यका लगानी अभावका कारण वा सहजताका लागि यो तरिका अपनाइन्छ ।

निर्माण, हस्तान्तरण र सञ्चालन (Build transfer and operate):  निजी क्षेत्रले बनाउनेबित्तिकै राज्यलाई सुम्पनुपर्ने तर लगानी उठाउन निश्चित समयसम्म मुनाफा आर्जन गर्न र सञ्चालन गर्न भने पाउने गरी गरिने करार हो, यो ।

विकास, सञ्चालन तथा हस्तान्तरण (Develop operate and transfer) : सरकारको स्वामित्वको कुनै संरचना वा पूर्वाधारलाई निजी क्षेत्रले मर्मत सुधार थप पुँजी लगानी आधुनिकीकरण आदि गरी विकसित र बहुउपयोगी बनाई सञ्चालन गर्ने र लगानीबराबरको मुनाफा आर्जन भएपछि सरकारलाई हस्तान्तरण गर्ने गरी गरिने करार हो ।

पट्टा, निर्माण, सञ्चालन तथा हस्तान्तरण (Lease build operate transfer): सरकारी सम्पति (जग्गा वा प्राकृतिक स्रोत) निजी क्षेत्रले निश्चित समयका लागि भाडामा लिने, उक्त स्थानमा आफ्नै लगानीमा पूर्वाधार तथा संरचना निर्माण गर्ने, आफैँले सञ्चालन गरी मुनाफा आर्जन गर्ने र त्यसपछि पुनः सम्पूर्ण स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्ने करारलाई LBOT भनिन्छ ।

निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण (Build own operate transfer): निजी क्षेत्रले आफ्नै लगानीमा पूर्वाधार तथा उद्योग बनाउने, सबै स्वामित्व आफैँले लिने, सञ्चालन गरी मुनाफा आर्जन गर्ने र लगानी उठेपछि सबै स्वामित्वसमेत सरकारलाई हस्तान्तरण गर्ने करार नै BOOT हो ।

PPP : सार्वजनिक क्षेत्र वा सरकार तथा निजी क्षेत्रका बीचमा गरिने साझेदारीलाई PPP भनिन्छ । यो सर्वाधिक सफल द्विपक्षीय साझेदारीको मोडल हो ।

PPPP : सरकार, निजी क्षेत्र र समुदाय अर्थात् जनताहरू समेतको साझेदारीलाई एएएए मोडल भनिन्छ । नेपालमा माथिल्लो तामाकोसी, चिलिमेलगायत जलविद्युत् परियोजनामा यस मोडलको प्रयोग भइरहेको छ ।

निष्कर्ष

विकासमा सबै पक्षको, खासगरी सार्वजनिक क्षेत्रको वैधानिक शक्ति र निजी क्षेत्रको नाफामूलक व्यवस्थापन सीपको उपयोग गरी विकासलाई प्रभावकारी, नतिजामुखी र दिगो बनाउने प्रयास नै साझेदारी विकास हो । अभ्यास गर्ने क्रममा साझेदारीका विभिन्न मोडलहरूको विकास हुँदै गएको पाइन्छ । आफ्नो देश र समाजको मौलिकता, अनुकूलता एवं आवश्यकताका आधारमा उपयुक्त मोडलको प्रयोग गर्न सके साझेदारी विकास सफल हुने आशा गर्न सकिन्छ ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post