लोक सेवा टिप्स: स्तरीय उत्तर कसरी लेख्ने?

लोक सेवामा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । राज्यको स्थायी शासन प्रशासन भएकाले नयाँ पुस्ता यसमा आउनु महत्त्वपूर्ण छ ।

स्थायी सेवामा प्रवेश गर्न भने विभिन्न खुड्किला पार गर्नुपर्ने हुन्छ । पहिलो हो, लोक सेवा परीक्षा ।

यो परीक्षाका सबै चरण पार गरेपछि मात्रै सेवा प्रवेश गर्न पाइन्छ । तर परीक्षा तयारी दौरान परीक्षार्थीमा द्विविधा उत्तिकै सिर्जना हुन्छन् । जसले अपेक्षित सफलता हात पार्नबाट रोकिरहेको हुन्छ ।

याे परीक्षामा परीक्षार्थीले भोग्नुपर्ने यस्तै अन्योलतालाई मध्यनजर गरेर नेपालवाचले प्रशासक, पूर्वप्रशासकसँगको सहकार्यमा त्यसकाे समाधान पहिल्याउने प्रयास थालेको छ । आजको यो श्रृंखलामा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले स्तरीय उत्तर लेखनबारे केही ‘टिप्स’ बाँड्नु भएको छ :

उत्तरमा पृष्ठभूमि लेख्ने कि नलेख्ने ?

मिहिनेत गरेर पढेपछि परीक्षामा उत्तर दिँदा पनि त्यही अनुसार गर्नुपर्छ । उत्तर लेख्ने आ–आफ्ना शैली हुन्छन् । त्यसका केही नियम पालना गर्ने हो भने उत्तर लेख्न जानिन्छ । सामान्यतया विद्यार्थीहरू प्रश्नको उत्तरमा सिधै प्रवेश नगरी पृष्ठभूमि लेखेर बस्ने गर्छन् ।

पृष्ठभूमि वा विषय प्रवेश परीक्षाको सन्दर्भमा भद्दा श्रृंगार मात्र हो।

परीक्षामा उत्तर लेख्दा विषय प्रवेश वा पृष्ठभूमि लेखिरहनु पर्दैन । प्रतियोगितात्मक परीक्षामा समय व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यसैले सिधै प्रश्नले जे मागेको छ, त्यही मात्र लेख्नुपर्छ । प्रश्नका कति खण्ड छन भन्ने पहिचान गरी प्रत्येक खण्डको छुट्टा–छुट्टै शीर्षक दिएर उत्तर लेख्नुपर्छ । धेरै परीक्षार्थीहरू मागेभन्दा बढी जानेको कुरा लेखेर समय खेर फाल्छन । उनीहरूलाई धेरै राम्रो लेखेँ भन्ने लाग्छ तर उत्तरमा प्रश्नले अपेक्षा गरेको कुरा कम र अनावश्यक कुरा बढी समेटिएको हुन्छ । पृष्ठभूमि वा विषय प्रवेश परीक्षाको सन्दर्भमा भद्दा श्रृंगार मात्र हो ।

निष्कर्ष कसरी लेख्ने ?

विद्यार्थीले गर्ने अर्को गल्ती हो, लम्बेतान निष्कर्ष लेख्नु । धेरै परीक्षार्थीले पहिले नै घोकेको र सबैमा मिल्ने निष्कर्ष लेख्ने वा तथ्यांक, उदाहरण, व्याख्या प्रस्तुत गरेर वा शब्दजाल बुनेर निष्कर्षलाई अनावश्यक लामो बनाउने गर्छन् । यसो गर्नु राम्रो होइन । निष्कर्ष समग्र उत्तरमा छरिएर प्रस्तुत भएका विचारहरूको सार हो । यसले सम्पूर्ण उत्तरमा के लेखियो भन्ने कुरालाई अन्त्यमा पुनःस्मृति गराउने हुँदा यो ज्यादै महत्त्वपूर्ण हुन्छ । निष्कर्ष उत्तर कपीमा चार लाइनभन्दा नबढ्ने गरी दुई वाक्यमा लेख्नु राम्रो हुन्छ । पहिलो वाक्यमा उत्तरको विश्लेषणात्मक खण्डको भावात्मक सार र दोस्रोमा आफ्नो मोटो सुझाव प्रस्तुत गर्नुपर्दछ ।

सान्दर्भिक उत्तरका लागि

उत्तर प्रश्नको खण्ड अनुसार अलग–अलग शीर्षकअन्तर्गत विभिन्न अनुच्छेद र वाक्यहरूमा लेखिने भएता पनि प्रत्येक खण्ड, अनुच्छेद र वाक्यहरू सिलसिलेवार र क्रमबद्ध रूपमा प्रस्तुत गरिएको हुनुपर्छ । यसका लागि एउटा अनुच्छेदमा एउटा मात्र विषयवस्तु प्रस्तुत गर्ने, नयाँ अनुच्छेदको सुरु वाक्य त्यसअघिको अनुच्छेदको भावमा टेकेर आवश्यकता अनुसार परिपूरक वा फरक मत हुने गरी लेख्ने र प्रत्येक नयाँ खण्डको शीर्षकलगत्तैको पहिलो वाक्य त्यसअघिको खण्डले समेटेको विषयवस्तुमा टेकेर सुरु गर्नुपर्छ । तर सिलसिलेवार बनाउने नाममा वाक्य, अनुच्छेद वा खण्डको सुरुवात ‘तथापि’, ‘यद्यपि’, ‘तर पनि’, ‘यहाँ जे सुकै भनिएको भए तापनि’, ‘माथिको कुरालाई मध्यनजर राख्दै’, ‘माथि गरिएको चर्चाका आधारमा’ जस्ता योजकहरूद्वारा गरिनु हुन्न । हरेक वाक्य, अनुच्छेद र खण्ड अन्तरसम्बन्धित हुँदाहुँदै पनि स्वतन्त्र र आफैंमा पूर्ण हुनुपर्छ ।

उत्तरको समीक्षाबारे

समीक्षा गर्नुहोस मात्र भनेको छ भने सुझाव दिइरहनु पर्दैन

समीक्षा गर्नुहोस् भनिएको प्रश्नमा खण्ड–खण्ड वा बुँदागत कुन शैलीमा लेख्ने भन्नेबारे पनि धेरैमा द्विविधा छ ।

सबै प्रश्नहरूमा खण्डअनुसारको शीर्षक दिई त्यसलगत्तै आवश्यकतानुसार विषयवस्तुको परिचय वा त्यससँग सम्बन्धित तथ्य–तथ्यांकका आधारमा सन्दर्भ विकास वा उत्तरमा के लेखिँदैछ भन्ने कुराको ‘कम्प्याक्ट स्टेटमेन्ट’लाई तीनदेखि चार लाइनको अनुच्छेदमा प्रस्तुत गरी अपेक्षित उत्तरलाई भने त्यसपछि बुँदागत रूपमा लेख्नुपर्दछ । समीक्षा गर्दा पनि यसै गर्ने हो । तर यसमा विद्यमान व्यवस्था, उपलब्धि र कमजोरी वा समस्या गरी तीन खण्डमा लेख्नुपर्छ । विद्यमान व्यवस्थाअन्तर्गत नीति, संस्था र कार्यक्रमहरू के छन् भनी लेख्नुपर्छ । उपलब्धिअन्तर्गत त्यस्ता नीति, संस्था र कार्यक्रमका कारण के प्रतिफल प्राप्त भयो भनी सकारात्मक उपलब्धिहरू लेख्नुपर्दछ भने कमजोरी वा समस्याअन्तर्गत त्यस्ता नीति, संस्था र कार्यक्रमका वाबजुद पनि अपेक्षित उपलब्धि हासिल नहुनुका कारणहरू लेख्नुपर्दछ । समीक्षा भनेको सकारात्मक र नकारात्मक दुवै पक्षको लेखाजोखा हो, यथार्थ अवस्थाको चित्रण हो । के गर्नुपर्छ भनी सुझाव दिने होइन । त्यसैले समीक्षा गर्नुहोस मात्र भनेको छ भने सुझाव दिइरहनु पर्दैन ।

शीर्षक आकर्षक बनाउनेबारे

उत्तर लेखनमा उपशीर्षक वा उत्तर खण्डको शीर्षक दिँदा कसरी आकर्षक बनाउने ? भन्नेबारे पनि परीक्षार्थीले ध्यान दिनुपर्छ । उत्तर लेख्दा धेरै परीक्षार्थीले सिंगो उत्तरको एउटा मूल शीर्षक दिएर पनि लेख्ने गर्छन् । यसो गर्नु जरुरी छैन । सिधै प्रश्नको खण्डअनुसार अलग–अलग शीर्षक दिएर लेख्ने हो । कहिलेकाहीँ एउटा शीर्षकअन्तर्गत उपशीर्षक पनि दिनुपर्ने हुनसक्छ । तर अनावश्यक रूपमा धेरै उपशीर्षकहरू दिनु राम्रो हुन्न । शीर्षक र उपशीर्षक दिँदा प्रश्नको खण्ड छुट्याउने कि वर्डलाई टेकेर सम्भव भएसम्म छोटो दिनुपर्छ । यो त्यसभित्र लेखिएको विषयवस्तुलाई प्रतिविम्बित गर्ने किसिमको आफैंमा अर्थपूर्ण र स्पष्ट हुनुपर्छ ।

वाक्यहरू जोड्ने सन्दर्भमा

शीर्षक वा उपशीर्षकभन्दा माथि कुनै पनि कुरा लेख्नु हुन्न । उत्तरका खण्ड जोड्ने वाक्य शीर्षक वा उपशीर्षक लेखिसकेपछि सोभन्दा मुनि मात्र लेख्नु पर्छ । अर्थात् लेखिएका सबै कुरा सम्बन्धित शीर्षक वा उपशीर्षकभित्र नै पर्नेगरी लेख्नुपर्छ ।

सिलसिलेवार बनाउने नाममा वाक्य, अनुच्छेद वा खण्डको सुरुवात ‘तथापि’, ‘यद्यपि’, ‘तर पनि’, ‘यहाँ जे सुकै भनिएको भए तापनि’, ‘माथिको कुरालाई मध्यनजर राख्दै’, ‘माथि गरिएको चर्चाका आधारमा’ जस्ता योजकहरू प्रयोग गर्न हुँदैन।

उत्तरको विश्लेषण गर्दा जहिले पनि मौजुदा अवस्थाको संक्षिप्त व्याख्या गरी त्यसका सबल र दुर्बल पक्ष, अवसर तथा सम्भावना र जोखिमहरूको लेखाजोखा गर्नुपर्छ । यी चार पक्षमध्ये पनि मूलतः सबल पक्ष र दुर्बल पक्षको चिरफारमा बढी ध्यान दिनुपर्छ । अवसर र जोखिमलाई फरक–फरक अनुच्छेदमा केही वाक्यहरूमा मात्र उल्लेख गरे पुग्छ । विश्लेषण गर्दा पनि निष्कर्ष खण्डबाहेक छुट्टै सुझाव दिइरहनु पर्दैन ।

जहाँसम्म विश्लेषण गर्ने क्षमता बढाउने सवाल छ, त्यसका लागि हरेक विषयवस्तुलाई तथ्यगत र वस्तुगत दृष्टिले ‘क्रिटिकल्ली’ हेर्ने बानी विकास गर्नु आवश्यक हुन्छ । कुनै पनि कुरा पढ्दा त्यस विषयका सम्बन्धमा माथिका चारवटा पक्षहरूमा आप्mनो धारणा विकास गर्ने गर्नुपर्छ । नियमित रूपमा लेख्ने र प्रत्येक लेखाइमा म कत्तिको क्रिटिकल, तार्किक, तथ्यगत र वस्तुगत बन्न सकेँ भन्ने कुराको आफैंले मूल्यांकन गरी निरन्तर सुधार गर्दै गएमा पनि विश्लेषणात्मक क्षमता बढ्छ ।

विश्लेषण व्यक्तिको धारणा, सोच र अनुभूतिका अधारमा हुँदैन । यसका लागि स्थापित सिद्धान्त, मान्यता, अभ्यास र तथ्यगत तर्कलाई आधार लिनु पर्ने हुन्छ । त्यसैले असल विश्लेषक बन्न निश्चय पनि धैर गहिरो र बृहत् अध्ययन जरुरी हुन्छ ।

अधिकृततहकाे परिक्षाकाे तयारीमा रहेकोले पढ्नुपर्ने विषयहरु

  • नेपालको संविधान पढ्नुपर्छ। संविधानका निर्देशक सिद्धान्तहरु, संविधानले राज्यलाई दिएको निर्देशन, मौलिक हक, संबैधानिक निकायहरु, राज्यको आर्थिक कार्यप्रणाली लगायत कुराहरुलाई एकदमै क्रिटिकल भएर अध्ययन गर्नुपर्छ । शब्दले के भन्न खोजेको छ, व्यवहारमा के छ भन्ने कुराहरु उसले पढ्नुपर्छ ।
  • आवधिक योजना अर्थात अहिलेका लागि १५ औँ योजनालाई निकै महेनत गरेर पढ्नुपर्छ ।
  • निजामति सेवा ऐन । निजामती सेवा ऐनले समग्र निजामति प्रशासनलाई दिशानिर्देश गर्ने भएकाले उक्त ऐन, नियमावलीहरुलाई मसिनो गरि पढ्नुपर्छ ।
  • त्यसपछि चालु बर्षको बजेट, नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणका तथ्यांकहरु गहन रुपमा अध्ययन गर्नुपर्छ । यससँगै नेपालको दिगो विकासको लक्ष्यलाई पनि राम्रोसँग पढ्नुपर्छ ।
  • उल्लेखित विषयहरु पढ्दा हल्का रुपमा नभए हरेक शब्दको आशय र व्यवहारमा के भइरहेको छ भन्ने कुरा ख्याल गर्ने गरि पढ्नुपर्छ ।
  • त्यसपछि पाठ्यक्रममा भए अनुसारको विषयवस्तुको सन्दर्भ सामाग्री कलेक्सन गर्नुपर्छ ।

घोक्ने भन्दा पनि विधिहरू सिक्नुपर्छ
  • निजामती सेवाका लागि लोक सेवाले लिने परीक्षा उत्तिर्ण गर्न सहज छैन । विद्यालय वा विश्वविद्यालयस्तरको मिहिनेतले लोक सेवाको परीक्षामा सफल हुन सकिँदैन । तसर्थ लोक सेवाको परीक्षामा सहभागी हुँदा अध्ययनमा नयाँ शैली र उपाय अपनाउनु जरुरी हुन्छ ।
  • विविध विधाबाट अनेकौं प्रश्नहरू सोधिने भएकाले अध्ययनको दायरालाई फराकिलो बनाउनुपर्छ । सोही अनुसारका अध्ययन सामग्रीको जोहो गर्नु आवश्यक हुन्छ ।
  • पढेका विषयमा निश्चिन्त हुनुपर्छ । खासगरी वस्तुगत प्रश्नहरूमा उस्तै – उस्तै लाग्ने उत्तरका धेरै विकल्प हुने भएकाले पढ्दा दोधार नहुने गरी निश्चित हुनुपर्छ ।
  • उत्तर दिँदा सृजनात्मक र मौलिक विधि अपनाउनुपर्छ । धेरै लामो लेखेर समय खेर फाल्नेभन्दा प्रश्नले मागेअनुसारको छोटो उत्तर दिनुपर्छ ।
  • अधिकांशको बानी पुस्तक मज्जाले घोक्ने हुन्छ । र, त्यही घोकेका आधारमा प्रश्नपत्रको हल गर्छन् । आफूले घोकेको प्रश्न परीक्षामा आए त ठिकै होला, तर अर्कै आयो भने प्रश्नै छाड्नुपर्ने हुन्छ । यसको समाधानका लागि घोक्नेभन्दा पनि विधिहरू सिक्न जरुरी हुन्छ । यो भनेको माछा मार्नेभन्दा माछा मार्ने विधि सिकाएजस्तो ।
  • आफूलाई जस्तोसुकै प्रश्नका लागि पनि तयार राख्नुपर्छ । यस्तो आउँछ/यस्तो आउँदैन भनेर अध्ययन गरियो भने परिणाम अनपेक्षित पनि आउनसक्छ ।
लोकसेवाको उत्तर कसरी लेख्ने ?
लोकसेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षामा धेरै पढेको र राम्रो ज्ञान भएकोभन्दा पनि राम्रो लेख्न सक्ने अर्थात् पढेको कुरा अधिकतम रूपमा परीक्षाको उत्तरपुस्तिकामा उतार्न सक्ने व्यक्ति नै सफल हुने गरेका छन् । नपढी त हुँदैन, तर पनि पढेर मात्र पनि सफलता हात नपर्न सक्छ । त्यसैले लोकसेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नले मागेका कुरा सकेसम्म मौलिक तरिकाबाट लेख्नुपर्छ ।
धेरै प्रतिस्पर्धीले तयारी कक्षा पढ्ने र प्रशिक्षकको नोटलाई विशेष आधारका रूपमा लिने हुनाले सबैको उत्तर एकै खालको हुन गई जाँचकीलाई मौलिकताविहीन उत्तरजस्तो पनि लाग्न सक्छ । सकेसम्म उत्तर लेख्दा सबै विषयवस्तु समावेश गरी, लेखाइको निरन्तरता र आबद्धता मिलाई, जाँचकीको ध्यान आकृष्ट गर्ने कुरामा जोड दिनुपर्छ । 

उल्लिखित पृष्ठभूमिमा लोकसेवा आयोगले लिने प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट अंक ल्याउन अपनाउनुपर्ने सावधानी र केही तरिका तल 
दिइएको छ :
१. प्रश्न गम्भीर भई पूरै पढ्ने, झुक्याउन खोजेको विषय, सन्दर्भ, पुच्छ्रे  प्रश्न पत्ता लगाउनुपर्छ ।
२. प्रश्नको उत्तर सरसर्ती मनमनै सम्झनुपर्छ ।
३. कति लेख्ने हो, त्यसको आँकलन गरी भूमिका, निष्कर्ष आवश्यक पर्छ–पर्दैन, यकिन गर्नुपर्छ ।
४. सकेसम्म सफा र प्रस्ट अक्षरमा शुद्ध उत्तर लेख्नुपर्छ ।
५. उत्तर लेख्दा प्रयोग गरिने मुख्य चार विधिमध्ये उपयुक्त विधिको छनोट गरी संरचनात्मक उत्तर दिनुपर्छ ।
(क) व्यवस्था, प्रयास, समस्याका क्षेत्र, सुधारका उपायलगायत प्रश्नको उत्तर दिँदा तीनवटा उपशीर्षक बनाउनु उपयुक्त हुन्छ ।
(अ) नीतिगत व्यवस्था : यसअन्तर्गत संविधान, कानुन, आवधिक योजना, क्षेत्रगत नीति र रणनीति, वार्षिक बजेट, सरकारको नीति तथा कार्यक्रम, अन्तर्राष्ट्रिय  
  सन्धि–सम्झौता आदिलाई उल्लेख गर्नुपर्छ ।
(आ) संस्थागत व्यवस्था : यसअन्तर्गत सरकारी क्षेत्र जस्तै– संघ, प्रदेश र स्थानीय सरकार, सोमातहतका मन्त्रालय, विभाग, आयोग, सचिवालय, परिषद्, केन्द्र, समिति, कार्यदल, परियोजना आदि उल्लेख गर्नुपर्छ ।
(इ)  कार्यक्रम, व्यवहार र आचरणगत व्यवस्थाः सअन्तर्गत सञ्चालित परियोजना तथा कार्यक्रमहरू, दैनिक अभ्यास, वर्तमान आचरण र संस्कार, सरकारी, निजी तथा सामाजिक क्षेत्रबाट गरिएका सबै प्रयास समेटी उत्तर दिनुपर्छ ।
(ख) संकट, विपत्, द्वन्द्व, परिवर्तन व्यवस्थापन, वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउने उपायजस्ता प्रश्नहरूको उत्तर समयक्रममा आधारित भई देहायका तीन उपशीर्षकमा लेख्दा राम्रो मानिन्छ :
(अ) वैदेशिक रोजगारीमा जानुपूर्व गर्नुपर्ने कामहरू,
(आ) वैदेशिक रोजगारीमा रहेका वेला गर्नुपर्ने कामहरू,
(इ) वैदेशिक रोजगारीबाट फर्किएपछि गर्नुपर्ने कामहरू,
(ग) भ्रष्टाचारका कारण, सुशासनका अवरोध, सेवा–प्रवाहका बाधा, दिगो विकासका आयामजस्ता प्रश्नको उत्तर देहायबमोजिमका उपशीर्षकअनुसार लेख्नु राम्रो मानिन्छ :
(अ) राजनीतिक कारण     
(आ) आर्थिक कारण
(इ) सामाजिक कारण    
(ई) सांस्कृतिक कारण
(उ) प्राविधिक कारण    
(ऊ) शासकीय कारण
(ए) मनोवैज्ञानिक कारण    
(ऐ) वातावरणीय वा  पर्यावरणीय कारण
(ओ) कानुनी कारण    
(औ) व्यक्तिगत वा मानवीय कारण
(घ) संविधान, कानुन, योजना आदिबाट प्रश्न सोधेमा अगाडिबाट पछाडि जाने विधि वा उपशीर्षक निर्माण विधिबाट उत्तर लेख्नु राम्रो मानिन्छ ।
६. उत्तर लेख्दा सार्वजनिक रूपमा मानहानि हुने र गम्भीर आरोप लगाउने शब्दहरूको प्रयोग सकेसम्म गर्नु हुँदैन ।
७. तर्क वा राय दिनुपर्ने प्रश्नको उत्तर लेख्दा एउटै तर्क वा राय दिनुपर्छ ।
८. अनावश्यक रूपमा भूमिका र निष्कर्ष लेख्नु हुँदैन । 
९. उत्तर लेख्दा कमजोरी मात्र औंल्याउने, दोष मात्र देखाउने, प्रतिक्रिया मात्र दिने, नकारात्मक टिप्पणी मात्र गर्ने गर्नुहुँदैन ।
१०. सकारात्मक मनोवृत्तिसहित उत्तर लेखी जिम्मेवार व्यक्तिको झल्को दिन सक्नुपर्छ ।
११. उत्तरमा एउटै बुँदा दोहो-याउने वा फरक–फरक तरिकाबाट लेख्नु हुँदैन ।
१२. उत्तरले व्यापक दृष्टिकोण राखेको र समस्याको समाधान दिनेतर्फ उन्मुख भएको हुनुपर्छ ।
१३. अरूको भन्दा फरक तरिकाबाट विषयवस्तु प्रस्तुत गरी जाँचकीको ध्यान र मन जित्न सक्नुपर्छ ।
समग्रमा, तपाईंले आफ्नो शैलीमा नै आफूलाई सक्षम देखाउनुपर्ने हुनाले समय व्यवस्थापन, शुद्धाशुद्धि, सकेसम्म क्रमिक रूपमा उत्तर लेखन, सन्तुलित, सकारात्मक र ठोस सुझाबसहितको वस्तुपरक उत्तरलगायत विषयमा उचित विचार पु-याई केही पनि गलत तथ्यांक प्रयोग नगरी, स्रोतसहित डाटा उदाहरणका रूपमा राखी उत्तर लेख्दा प्रतिस्पर्धामा खरो उत्रिन सकिने मेरो विश्वास छ ।
Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post