श्रम उदारीकरण, राजस्व चुहावट

प्रश्नः श्रम उदारीकरण भन्नाले के बुझ्नुहुन्छ ?  श्रम उदारीकरणका फाइदा र बेफाइदा औँल्याउनुहोस् । (१०)

श्रम स्वतन्त्रताका लागि श्रम उदारीकरण

भौगोलिक सिमानाको अवरोधविना स्वतन्त्र रूपमा व्यक्तिले आफ्नो श्रमको अभ्यास गर्न पाउने अवस्थालाई श्रम उदारीकरण भनिन्छ । श्रमको हक स्वतन्त्रता र सुरक्षालाई मध्यनजर गर्दै श्रम र रोजगारीको अवस्था श्रमबजारले नै निर्धारण गर्ने मान्यता हो, श्रम उदारीकरण । श्रम उदारीकरणले विश्वको जुनसुकै स्थानका श्रमिकले श्रम गर्न पाउने अवस्थालाई बुझाउँछ । वैदेशिक रोजगारीलाई श्रम उदारीकरणको उदाहरण मान्न सकिन्छ । 

विश्वव्यापीकरण र उदारीकरणको वर्तमान विश्वबजारमा आएको नवीन मान्यतास्वरूप श्रम उदारीकरणको धारणाले मूर्त रूप लिँदै गएको छ । आइएलओ अभिसन्धि १९१९ ले समेत श्रमिकको हकअधिकारको सुनिश्चितता गरेको छ । नेपालको वर्तमान संविधानले पनि श्रमिकको हक, रोजगारीको हक आदिलाई मौलिक हकका रूपमा राख्दै श्रम उदारीकरणलाई प्रोत्साहन गरेको छ । यद्यपि कमजोर श्रमबजार र रोजगारीको अभावमा उदारीकरणबाट नेपाल र नेपालीले अपेक्षित फाइदा लिन नसकेको तितो यथार्थ हाम्रा सामु छ । 

श्रम उदारीकरणका फाइदा 

  • संविधानमा नै रोजगारीको हकले मौलिक हकको मान्यता पाएको छ ।
  • श्रम अदालत, श्रम कानुनको व्यवस्था भएको छ ।
  • श्रम स्वतन्त्रता ग्यारेन्टी भएको छ ।
  • श्रमिकको हक–अधिकारको संरक्षण गरिएको छ ।
  • न्यूनतम ज्यालादर लागू भएको छ ।
  • श्रम विविधीकरणले प्रोत्साहन पाएको छ ।
  • श्रम छनोटको स्वतन्त्रता बढेको छ ।
  •  स्थिर र खुला श्रमबजार विस्तार भएको छ ।
  • श्रम उद्यमशीलताको प्रवर्द्धन हुँदै गएको छ ।
  • अन्तरनिकाय समन्वय बढेको छ ।
  • वैदेशिक सीप र प्रविधि भित्र्याउन  सहज भएको छ ।
  • सामाजिक न्याय कायम गर्न सहज भएको छ ।
  • श्रम स्वच्छता र प्रतिस्पर्धा बढ्दा उत्पादन र उत्पादकत्व बढेको छ ।

श्रम उदारीकरणका बेफाइदा 

  • उच्च श्रम प्रतिस्पर्धाले श्रम प्राप्ति कठिन हुँदै गएको छ ।
  • सरकार, रोजगारदाता र श्रमिकबीच समन्वयमा कठिनाइ देखिएको छ ।
  • ट्रेड  युनियनमा दलीय प्रभाव रहेको छ ।
  • श्रमिक संगठनका नाममा टाठा–बाठाले लाभ लिएका छन् ।
  • वैदेशिक रोजगारीमा जाँदा पारिवारिक विचलन आएको छ । 
  • ट्रेड  युनियनको अधिकारको दुरुपयोग भएको छ ।
  • असहज श्रम सम्बन्ध विकास भएको छ ।
  • श्रममा अस्वस्थ प्रतिस्पर्धाको खतरा बढेको छ ।
  • रोजगारी र ज्याला निर्धारणमा अनियमितता देखिएको छ ।
  • प्रतिभा पलायनको खतरा बढेको छ ।
  • सामाजिक, सांस्कृतिक जीवनमा नकारात्मक असर पर्दै गएको छ ।
  • उत्पादन लागत बढ्दै गएको छ ।
  • बढ्दो श्रम लागतले लगानी बाहिरिने खतरा बढेको छ ।

यसरी श्रम उदारीकरणले श्रमिकको हक–अधिकारको संरक्षण गर्दै श्रमबजारमा प्रतिस्पर्धी श्रमिकको उत्पादन गर्छ । राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउन आधार प्रदान गर्ने भएकाले उदारीकरणलाई अझैै परिष्कृत रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो ।

प्रश्नः राजस्व चुहावट भनेको के हो ? यसका कारण उल्लेख गर्नुहोस् ।  ५

राजस्वको छली राजस्व चुहावट

राज्यबाट सेवा–सुविधा लिएबापत नागरिकले अनिवार्य रूपमा बुझाउने मौद्रिक रकम राजस्व हो । राजस्वको दायराभित्र नआउने, ऐन–नियमको उल्लंघन गरी राजस्व कम तिर्ने वा नतिर्ने, गलत लेखा राख्ने, गलत भन्सारको बाटो प्रयोग गर्नेजस्ता कार्य गरी राजस्व छली गर्ने कार्यलाई राजस्व चुहावट भनिन्छ । राजस्व चुहावट नियन्त्रण गरी राजस्वको आधारलाई फराकिलो बनाउनु राज्यको अनिवार्य दायित्व हो । 

राजस्व चुहावटका कारण

  • खुला सिमानाका कारण भन्सार छली हुनु,
  • सीमा सुरक्षा व्यवस्थित नहुनु,
  • दीर्घकालीन राजस्व नीतिको अभाव हुनु,
  • जनतामा सहज रूपमा कर तिर्ने बानीको विकास नहुनु,
  • जनतामा कर सदुपयोगको प्रत्याभूति नहुनु,
  • राजस्व प्रशासनसँग सम्बन्धित निकायबीच समन्वयको अभाव हुनु,
  • राजस्वसम्बन्धी ऐन–नियमको पूर्ण परिपालना नहुनु,
  • राजस्व चुहावट नियन्त्रणका कार्यलाई पहिलो प्राथमिकता नदिनु,
  • राजस्व चुहावट गर्नेलाई सजाय नहुनु र न्यून सजाय हुनु,
  • सक्षम कर प्रशासनको अभाव हुनु,
  • करदातामा राष्ट्रप्रेमको भावना नहुनु,
  • कानुनको व्याख्यामा एकरूपता नहुनु,
  • करका दर धेरै तथा दायरा कम हुनु ।

यसरी बढ्दो चुहावटका कारण राजस्व संकलन प्रभावकारी नभएकाले चुहावट नियन्त्रणसम्बन्धी कानुनको सही कार्यान्वयन हुनु जरुरी देखिन्छ ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post