१.१ भौगोलिक अवस्था / स्वरुप : किसिम र विशेषताहरु

अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठयक्रमको द्वितीय पत्र खण्ड (A) अन्तर्गत १. नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्थामा समावेश गरिएको १.१ भौगोलिक अवस्था / स्वरुप : किसिम र विशेषताहरु शिर्षकको नोट

भौगोलिक अवस्थिति (विश्व मानचित्रमा नेपाल)

  • नेपाल दक्षिण एसियामा अवस्थित भपूरिवेष्ठित मुलुक हो । 
  • नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । 
  • नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत, दक्षिण एसियाको २.८२ प्रतिशत भभूाग ओगटेको छ । 
  • नेपाल एसियाका दुई विशाल मुलुकहरू भारत (२२ गुणा) र चीन (६५ गुणा) को बिचमा पर्दछ । नेपालको दक्षिणमा भारतको विहार र उत्तर प्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।
  • यो समुद्र/बंगालको खाडीदेखि करिब ११२७ कि.मि. टाढा छ । 
  • नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग  कि.मि. अथार्त ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ ।  
  • नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशङ्कर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रिनविच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । 
  • विश्वका ८,००० मिटरभन्दा अग्ला १४ चचुरा मध्ये नेपालमा आठ ओटा पर्दछन् । यसका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता ठूला नदीहरू र रारा, फेवा, गोसाइकुण्ड जस्ता सुन्दर तालहरू छन् । 
  • भूस्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा ऊष्ण (Tropical), अर्धोष्ण (Mesothermal), सुक्ष्म तापीय (Micro thermal), टाइगा र टुन्ड्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् । 
  • नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेकोे छ । 
  • विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश र विशिष्ट झन्डाको देशको रूपमा समेत परिचित छ ।

भौगोलिक विभाजन (नेपालको भौगोलिक किसिम)

धरातलीय स्वरूपको आधारमा नेपालको विभाजन

नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलको आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदेशमा विभाजन गर्न सकिन्छ । 
(क) हिमाली प्रदेशः मूख्य हिमाली क्षेत्र, भित्री हिमाली क्षेत्र (भोट), सीमान्त हिमाली क्षेत्र
(ख) पहाडी प्रदेशः चुरे पर्वत श्रेणी, मध्यभूमी, महाभारत श्रेणी
(ग) तराई प्रदेशः खास तराई, भावर क्षेत्र, भित्री मधेश (दून)

(क) हिमाली प्रदेश 

  • नेपालको उत्तरी भेगमा हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ। 
  • करिब २५ देखि ५० किलोमिटर उत्तर-दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुद्र सहत देखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ। 
  • विश्वका उच्चतम् र मनोरम हिमाली टाकुराहरू नेपालको हिमालयखण्डमा पर्दछन्। यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्र अन्तर्गत पर्छ। 
  • कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, निलगिरि, अन्नपूर्ण, धवलागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खला हुन्। 
  • हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ। माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमिन मात्रै खेतीका लागि उपयुक्त छ। कृषि उब्जनी न्यून छ। याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन, पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन्। यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन नसकेको कारण उत्पादनको बजारीकरण गर्न  कठिनाइ हुने गरेको छ। 
  • हिमाली क्षेत्रमा नेपालका २१ जिल्ला पर्दछन्। 
हिमाली प्रदेशलाई निम्नलिखित तीन बृहत  क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छः

मूख्य हिमाली क्षेत्र

  • हिमालय अन्तर्गतका उच्चतम् चुलीहरू केन्द्रित मूख्य हिमालयमा ८,००० मिटर अग्ला चुलीहरू पर्छन्। 
  • विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो– ओयु, धवलागिरि, मनास्लु, अन्नपूर्ण विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन चुचुराहरू रहेका छन्। 
  • कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ, गणेश, गोरखा, अन्नपूर्ण, धवलागिरि, काञ्जिरोवा, अपी र सैपाल हिमशृङ्खला अन्तर्गत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये आठओटा हिमशिखरहरू पर्दछन्। 

भित्री हिमाली क्षेत्र (भोट)

  • मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर अवस्थित नदी निर्मित उपत्यकाहरूलाई भित्री हिमाली हो। 
  • यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाङगु, बुढी खोटाङ, केरुङ, न्यानम, रोङ्गसार, खम्बु, कर्मा आदि हिमवेष्ठित उपत्यकाहरू छन्। 
  • उत्तरमा होचा पर्वत र दक्षिणमा अग्ला हिमालयका बिचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन्। कतैकतै गहिरो खोँच र बेँसी रहेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछायामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ। यस भेगमा शुष्क जलवायु पाइन्छ। 
  • यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुने हुँदा डालेघाँस प्रायः पाइँदैन । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोडा, चौँरी आदि जनावरबाट गर्ने गर्दछन् । जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म फल्छ । हिउँदमा ठन्डा हुने हुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निकै पातलो छ।

सीमान्त हिमाली क्षेत्र

  • यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । 
  • सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानी ढलो क्षेत्रका रूपमा रहेको छ । 
  • उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पुराना मानिन्छन्। 
  • मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन् । वृष्टिछायामा पर्ने भएकाले योे क्षेत्र मूलतः हिमाली मरुभूमिका रूपमा रहेको छ । 

(ख) पहाडी प्रदेश

  • उत्तरमा हिमाल र दक्षिणमा तराईबिच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म अग्लाहोचा पहाडहरू, फराकिला–साँगुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ । 
  • दक्षिणमा समुद्र सतहदेखि करिब ३०० मिटरदेखि उत्तरमा ३,००० मिटरसम्मका भूभागहरू ओगटेर ७६ किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन् । 
  • सबैभन्दा बढी (६८‌%) भूभाग यस प्रदेशले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ । 
  • यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक,  नुवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बाग्लुङ, प्युठान, रोल्पा, रूकुम (पश्चिम), सल्यान, जाजरकोट, दैले ख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी ३५ ओटा जिल्ला पर्दछन् । 
पहाडी प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छः 

चुरे पर्वत श्रेणी

  • नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित रहेको समुद्र सतहदेखि ६१०-१८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यसलाई चुरिया, चुरे पर्वत, बाह्य हिमालय तथा शिवालिकको नामले समेत प्रसिद्ध छ । 
  • यो क्षेत्रले १२.७ प्रतिशत (१,८७९,००० हेक्टर) भूभाग ढाकेको छ । चुरे पर्वत श्रेणीका धेरै भाग जङ्गलले ढाकेको छ । यो क्षेत्र बालुवा, कङ्कड, ढुङ्गा र खुकुला खस्रा पदार्थले बनेको छ 
  • यहाँको माटो वर्षाको पानी थाम्न सक्ने खालको छैन । वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवदनशील मानिएकोे छ । करिब ९३ प्रतिशतभन्दा बढी भूभाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन । 
  • वर्षादको पानी जमीनमा सञ्चय गराई तराई क्षेत्रमा पानीको आपूर्ति गर्ने हुँदा यसलाई Water Recharge in Terai पनि भनिन्छ । 

महाभारत श्रेणी

  • पूर्वपश्चिम फैलिएको समुद्र सहतदेखि करिब १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्वपूर्ण भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ ।
  • होचो हिमालय (Lesser Himalaya) को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुने हुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hill Station पनि भनिन्छ ।
  • सैलुङ्ग, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोँच आदि यहाँका प्रमुख शिखर हुन् ।

मध्यभूमि श्रेणी

  • महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बिचमा रहेका ठूला-ठूला टार, बेसी र उपत्यकाहरूलाई मध्यभमूी भनिन्छ।
  • मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ ।
  • पहाडी प्रदेशमा किरात (राई, लिम्बू), तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोबास गर्छन् । 
  • यहाँको जलवायु वर्षैभरि कृषिका लागि उपयुक्त छ । पहाडी क्षेत्र मूलतः फलफूल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो । उर्वरभूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ ।

(ग) तराई प्रदेश

  • पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्वपश्चिम फैलिएको नेपालको समतल भूभाग तराई प्रदेश हो । यसलाई मधेश पनि भनिन्छ । 
  • यस प्रदेशको  चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । 
  • यो क्षेत्र ऊष्ण क्षेत्र हो । समुद्र सतहबाट ६० देखि ६०० मिटरको उचाइमा रहेको छ ।
  • हाल यो क्षेत्र बहुजातीय क्षेत्र बनेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रअन्तर्गत २१ जिल्लाहरू पदर्छन्।

तराई प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न  सकिन्छः 

खास तराई

  • देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई खास तराई भनिन्छ । मिहीन पाँगो माटोले बनेको यो क्षेत्र उर्वर रहेको छ।

भावर क्षेत्र

  • खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुद्रसतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भावर क्षेत्र भनिन्छ।
  • ८ देखि १० माइलसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ। 

भित्री मधेस

  • चुरे र महाभारत पर्वत श्रेणीको बिचमा समुद्र सतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेस वा दून क्षेत्र भनिन्छ।
  • ३२ देखि ६४ कि.मि.सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ।
  • भित्री मधेस अन्तर्गत उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), दाङ र सुर्खेत उपत्यका पर्दछन्। 

नदीका आधारमा नेपालको विभाजन

(क) कोशी क्षेत्र (प्रदेश)

  • पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान) बिचको कोशी नदी प्रभावित क्षेत्रलाई क्षेत्रलाई कोशी प्रदेश भनिन्छ।
  • तमोर, अरुण, दुधकोशीलिखु, तामाकोशी, सुनकोशी र इन्द्रावती (तअदुलीतासुई) मिलेर सप्तकोशी नदी बनेको छ ।
  • यो नेपालको सबैभन्दा ठूलो नदी हो ।
  • यसको लम्बाई ७२० कि.मि., जलप्रवाह क्षमता १५६४ क्यूविक मिटर प्रति सेकेण्ड, विद्युट उत्पादन क्षमता २२,००० मेगावाट, प्रभाव क्षेत्र झन्डै ६० हजार वर्ग कि.मि. रहेको छ ।
  • सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो नदी लिखु हो । 

(ख) गण्डकी क्षेत्र (प्रदेश)

  • पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरी हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ।
  • गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू त्रिशूली, बुढीगण्डकी, दरौदी, मर्याङ्दीमादीसेती र कालीगण्डकी (त्रिबुदममासेका) हुन्।
  • गाण्डव ऋषिको नामबाट नामकरण गरिएको मानिएको यस नदीलाई चितवन जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ । यो नेपालको सबैभन्दा गहिरो नदी हो।
  • यसको प्रभाव क्षेत्र करिब ३८,००० वर्ग कि.मि, करिब ३३८ कि.मि. लामो, विद्युत क्षमता करिब २१,००० मे.वा., जल प्रवाह १७१३ क्यु.मि. प्रतिसेकेण्ड रहेको मानिएको छ।
  • कालीगण्डकी सबैभन्दा ठुलो र दरौँदी सबैभन्दा सानो हो ।

(ग) कर्णाली क्षेत्र (प्रदेश)

  • पूर्वमा धवलागिरी हिमालदेखि पश्चिममा व्यास हिमालबिच कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ।
  • कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू सानी भेरीठूली भेरीमुगु कर्णालीतिलाहुम्ला कर्णालीबुढीगङ्गा र सेती नदी (साठूमुतिहुबुसे) हुन् ।
  • यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ । यो नदी भारतमा पुगेपछि घाघँरा र सरयू नामले समेत चिनिन्छ।
  • यो नदीको प्रभाव क्षेत्र करिब ४२,००० व.कि.मि., लम्बाई ५०७ कि.मि., विद्युत उत्पादन क्षमता ३२,००० मे.वा. र औषत जलप्रवाह क्षमता १३१६ क्यु.मि. प्रतिसेकेन्ड मानिएको छ।

नेपालमा उपलब्ध माटोका प्रकार

(क) पाँगो माटो

  • तराई प्रदेश र बेँसीमा पाँगो माटो पाइन्छ । 
  • नदीले थुपारेकोे माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटामा बालुवा र चिम्टे माटाको मात्रा करिब बराबर हुन्छ । 
  • यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदि खनिज तत्वको मिश्रण हुन्छ । 
  • यो माटो कृषि कार्यका लागि उत्तम मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ । 

(ख) बलौटे पत्थरिलो माटो

  • भाबर प्रदेश, भित्री मधेस र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । 
  • यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कङ्कड, पत्थरजस्ता खुकुला खस्रा पदार्थ मिली बनेको हुन्छ । 
  • मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ र यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ । 
  • यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तर साल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ ।

(ग) रातो फुस्रो माटो

  • महाभारतका ठाडा भिरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो भनिन्छ । 
  • यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कम हुने हुँदा यस क्षेत्रको माटोको रङ रातो, फुस्रो वा पहेँलो हुन्छ । 
  • चून, नाइट्रोजन र फस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुनेहुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ती आदि खेती प्रायः गरिँदैन । 
  • यस्तो माटोमा अम्ल, फलामजस्ता खनिज तत्व हुने हुँदा फलफूल, चिया, आलु, मकै, कोदाको खेती गर्न यो उपयोगी हुन्छ । 

(घ) तलैया माटो

  • उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । 
  • यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ कालो हुन्छ । 
  • माटोको गहिराइ बढी हनुका साथै जैविक पदार्थ पनि प्रशस्त हुने हुँदा तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ । 
  • यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छ । यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ ।

( ङ) हिमाली माटो

  • हिमनदीले थुपारेको माटो, बालुवा, कङ्कड, पत्थर आदि मिलेर हिमाली माटो बन्दछ। 
  • नेपालको भित्री र उच्च हिमाली क्षेत्रको फेदीमा यस किसिमको माटो पाइन्छ। 
  • हावापानी ठन्डा र शुष्क हुने तथा माटोको गहिराइ एवम् जैविक पदार्थ कम हुने हुदाँ यसको उर्वरा शक्ति न्यून हुन्छ। 
  • यो माटोमा मकै, जौ, आलु, फापरजस्ता बालीमात्र लगाइन्छ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post